श्री लुंमधी भद्रकाली माता

श्री लुंमधी भद्रकाली माता

Thursday, March 28, 2013

श्री भद्रकाली शरणं !


देवी भद्रकाली कलिगत सम्वत् ३८२५ वि.सं. ७८१ तिर लिच्छवी राजा श्री गुणकामदेवका समयमा वटुटोल मन्त्रसिद्धि महाविहार, सवल वहालका प्रसिद्ध तान्त्रिक वज्राचार्य साश्वतवज्रले राजाज्ञा बमोजिम कामरुप कामाक्षापीठबाट साधना गरी ल्याई स्थापना गरिएका हुन्। यिनै देवी स्थापना गरिएको स्थान हाल वैष्णवी कालिका पीठका रुपमा रहेको कान्तिपुर टुंडिखेलका लुँमधि भद्रकालीका स्थान हुन्। यी देवी देशमा आईपरेका दैवीप्रकोप, कलिकलह, विघ्नवाधा संकट मोचन गर्ने भगवतीको रुपमा प्रख्यात छन्। साथै यी शक्ति स्वरुप भद्रकालीको नित्य पूजा उपासना गरे भक्तजन प्राणी मात्रमा हुने दिनदशा ग्रह पीडाकष्ट शान्ति हुनुका साथै मनोकामना पूर्ण  भै कार्य सिद्धि समेत हुन्छ।


यी जगत कल्याणकारी श्री भद्रकालीको प्राचीन द्यःछें कान्तिपुर राजकृति महाविहार, टे बहालटोल का...पा. २२ वडामा अवस्थित छ। इंटा टायल छाना छाएको ३ तल्ले यस द्यःछें  (देवघर) पश्चिमाभिमुख गरी निर्माण गरिएको छ। द्यःछेंको बिचतल्लाको सन्मुख भागमा दायाँ बायाँ २ वटा काठका आँखी झ्याल र बिचमा देवीका सुवर्ण मूर्ती सहितका सुवर्णमय आँखी झ्याल जडित छ। द्यःछेंका दक्षिणतपर्फ काठका ३ मुखे कलात्मक काष्ठमय झ्यालका साथै अष्टमातृका अंकित सुन्दर १७ वटा तोरण सुशोभित छन्। छाना माथि बिचभागमा सुनको प्रभासहितको सुन्दर गजूर प्रतिस्थापित छ।


यस द्यःछेंमा पश्चिमाभिमुख गरी प्रतिस्थापित श्री देवी भद्रकाली, श्वेतकालीं, चामुण्डा, रक्तकाली, दक्षिणकाली, कुमारी, वैष्णवी, वाराही, ब्रम्हायणी, इन्द्रायणी, माहेश्वरी, भैरव, गणेश, कुमार, सिंगिनी व्यांघिनी गरी १६ वटा देवदेवीगण विराजमान छन्। ती मध्ये तत्कालीन समयमा निर्मित यस द्यःछेंमा प्रतिस्थापित प्राचीन मूर्तिका अतिरिक्त उपरोक्त अन्य १६ वटा देवदेवीका मूर्तिहरु श्री ५ रणबहादुर शाहले नेपाल सम्वत ९१६ मा नव निर्माण गरी स्थापना गरिएको देखिन्छ। साथै देवीको नित्य नैमितिक, मासिक, वाषिर्क पर्वपूजा सुचारु रुपले संचालन गर्न लिच्छवी मल्ल राजाहरुका अतिरिक्त श्री ५ रणबहादुर शाहले पनि गुठी व्यवस्था गरी दिएको छ।


लिच्छवी राजा गुणकामदेवका छोरा लक्ष्मीकामदेवबाट पिशाच चतुर्दशी (पाहाँ चर्हे) अर्थात चैत्र कृष्ण चतुर्दशीको दिन प्राचीन देवीका मूर्ति खटमा राखी चलाउँदै आएको यात्रामा पछि आएर अन्य मूर्ति समेत राखी खटयात्रा चलाई आइरहेका छन्। जुन यात्रा कान्तिपुर उपत्यकामा पाहाँ चर्हे जात्रा नामले यद्यपि प्रचलित छ। यसरी श्री देवी भद्रकालीको खटयात्रा बाहेक वर्षेनि विजया दशमी वडा दशैंका दिन यस द्यःछेंबाट देश रक्षार्थ र प्राणीमात्रको कल्याणार्थ दुष्टगण दैत्य संहारको रुपमा खड्गयात्रा (मोहरी पायो) पनि चलाउँदै आएकेा कुरा सबैलाई विदितै भएको हो। (साभार)



No comments:

Post a Comment